२० चैत -काठमाडौं, टिकटकमा तुलसा कलेक्सनको नामबाट भाइरल ललितपुरकी तुलसा अधिकारीले व्यवसायी कुमार चिमोरियाबाट धम्की र ब्ल्याकमेलिङको माध्यमबाट साढे ६ करोड बढी रकम असुल गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
उनले चिमोरियालाई मोबाइल, गहना, स्कुटर, पसल खरिद, दिदीको जन्मदिन र छोरीको मासिक शुल्क लगायत विषय देखाउँदै बारम्बार रकम असुल गरेको पाइएको हो । तुलसाले एकै महिनामा क्रमशः आइफोन ११, १४ र १५ प्रो म्याक्सका महँगा मोडलहरू किन्न लगाएको समेत खुलेको छ ।
उनले २४ लाखभन्दा बढीको सुनका गहना, स्कुटर खरिद र साना व्यक्तिगत खर्च समेत चिमोरियालाई तिराउने गरेकी थिइन् । उनले आफ्नी दिदीको जन्मदिन मनाउन भन्दै ५० हजार रुपैयाँ असुलिन् भने कसैलाई जुत्ता किनेर दिनु छ भन्दै ३० हजार रुपैयाँ चिमोरियाको खाताबाट हाल्न लगाइन्। यतिमात्रै होइन चिमोरियालाई शारीरिक सम्बन्ध राखेको प्रमाण देखाएर तुलसाले नख्खिपोटमा फ्ल्याट, सातदोबाटोमा ७ लाख बढीको पसल र इमाडोलमा ६ लाख बढी रकमको अर्को पसल पनि खोल्न लगाएको पाइएको छ ।
तुलसाले ब्ल्याकमेलिङबाट आएको रकम विदेश समेत लगेको खुलेको हो । उनले ब्लाक पैसालाई ह्वाइट बनाउन टिकटकमा कानो मामा भनेर भाइरल प्रयास पोखरेलको नाममा चीनमा टिपुरी कलेक्सन प्रा।लि समेत खोलेको पाइएको छ । जसमा पैसालाई व्यवसायिक लगानी जस्तो देखाइ हुण्डीमार्फत करोडौं रकम चीन पुर्याइएको हो ।
चिमोरियालाई धम्क्याउँदै विभिन्न व्यक्तिलाई तुलसाले रकम लिन पठाउने गरेकी थिइन् । उनले ह्वाट्सएपमार्फत भारतमा रहेका मोहित सिंगला र अशोक कुमार अग्रवाललाई भेट्न पठाएर ८० लाख असुल गरिन्।
प्रतिक्रिया