काठमाडौं । आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ।
यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा आज बिहानैदेखि पितृप्रति सम्मान प्रकट गर्नेहरू भेला भएका छन्। उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर आजका दिन मेला लाग्ने गरेको छ। यहाँ आउने भक्तजनका लागि गत वर्षभन्दा बढी सेवा दिने गरी मूल समिति र उपसमितिले तयारी गरेको छ।
कुशे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ। मेला व्यवस्थापन गर्न आजैदेखि दुई सय जना स्वयंसेवक परिचालन गरिएको छ। मेलाका लागि आज नेपाल मेडिकल कलेज र माकालबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने समितिले जनाएको छ।
यस अवसरमा रसुवाको वेत्रावती, देवघाट लगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ। मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ।
प्रतिक्रिया