काठमाडौं । गौरा पर्व सुदूर पश्चिम क्षेत्रमा आज धुमधामले मनाइँदै छ । गौरा पर्व विशेष गरेर डोटी र भारतको कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक पृष्ठभूमिको ठुलो महत्त्व छ । खस राज्यको उद्गम भूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ ।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएको बताएका हुन् ।
गौरा पर्वको पौराणिक कथा
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगु वंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान् पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
कसरी मनाइन्छ गौरा ?
गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुँडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । बिरुँडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रूपमा ‘बिरुँडा’ धोएर गौराको प्रतिमा बनाई गौरा घरमा भित्र्याउँछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
प्रतिक्रिया