logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

    • hamroserophero hamroserophero
    • ११ चैत्र २०८२ बुधबार
    इन्धन मूल्यवृद्धिपछि भाडा समायोजन नगरे सेवा अवरुद्ध गर्ने चेतावनी

    ११ चैत- काठमाडौं,  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ ।

    महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल आयल निगमले चैत २ गते राति १ बजेदेखि लागू हुने गरी डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

    महासंघका अनुसार मूल्यवृद्धिपछि तत्काल भाडा समायोजनको माग गर्दै सम्बन्धित निकायमा अनुरोध गरिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरिएको छ ।

    यसैबीच यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरिसकेको छ । विभागले २०६५ सालदेखि लागू वैज्ञानिक भाडा समायोजन विधिअनुसार १३ वटा सूचकका आधारमा यात्रुवाहकतर्फ ११.३३ प्रतिशत, तराई मालवाहकतर्फ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशत भाडा वृद्धि गर्नुपर्ने सिफारिस गरेको जनाएको छ ।

    महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको भन्दै हाल व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेको उल्लेख गरेको छ ।

    महासंघका महासचिव डेकनाथ गौतमले सरकारबाट छिटो निर्णय नआए सेवा बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । उनले विभागको सिफारिसअनुसार स्वघोषणा गरी भाडा समायोजन गरेर सेवा सञ्चालन गर्ने विकल्पसमेत खुला राखिएको बताए ।

    महासंघले यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने चेतावनी दिएको छ ।



    hamroserophero hamroserophero    
  • ११ चैत्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP