काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ निजामती सेवा दिवसको अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई शुभकामना सन्देश व्यक्त गरेका छन्। उनले निजामती सेवाको योगदान र यसको ऐतिहासिक भूमिकालाई उच्च मूल्याङ्कन गर्दै निजामती कर्मचारीहरूले मुलुकको राजनीतिक परिवर्तनमा गरेको परोक्ष र प्रत्यक्ष योगदानलाई सराहना गरेका छन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा तानाशाहीविरुद्धका संघर्षमा निजामती कर्मचारीहरूले खेपेको पीडा, बलिदान, र पेशागत हकहितका लागि गरेको आन्दोलनहरूलाई उल्लेख गर्दै ती संघर्षमा सहादत प्राप्त गर्ने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निजामती सेवामा रहेका कर्मचारीहरूका मागहरू क्रमशः पूरा हुँदै गइरहेको र कर्मचारीहरूको सहभागितामा भएका आन्दोलनहरू सफल भएको पनि स्मरण गरेका छन् ।
प्रधानमन्त्रीले लोकतन्त्रको स्थायित्व र जनतामा त्यसको विश्वास बढाउन निजामती सेवाको भूमिकालाई अत्यन्त महत्त्वपूर्ण भनेका छन्। निजामती सेवाको कुशल कार्यसम्पादनमार्फत मुलुकको आर्थिक र सामाजिक विकास सम्भव हुने भन्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै निजामती कर्मचारीहरूलाई ज्ञान, सीप, र दक्षता वृद्धि गर्न प्रेरित गरेका छन्। यससँगै, उनले निजामती सेवामा लाग्ने गरेका आलोचनाहरूलाई चिर्दै पेशागत निष्ठा, व्यावसायिकता, र उच्च नैतिक आचरण प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रतिक्रिया