logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, काठमाडौ उपत्यकामा सार्वजनिक विदा

    • Uddav Kumal Uddav Kumal
    • २० श्रावण २०८१ आईतवार
    रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, काठमाडौ उपत्यकामा सार्वजनिक विदा

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । राष्ट्रपति रामचन्द्र पौडेल भोटो देखाउने जात्रामा सहभागी हुनेछन् । गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउनेछन् ।

    जात्राबारे रोचक किम्बदन्ती

    मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन ।

    किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।

    डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । नागराजले पुरस्कारस्वरुप बहुमूल्य मणि जडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो ।

    किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।

    भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

    आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेको छैन ।



    Uddav Kumal Uddav Kumal    
  • २० श्रावण २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP