logo
  • १८ जेष्ठ २०८३, सोमबार | Mon, 01 Jun 2026
  • गोरखाको धावामा गर्भवती र सुत्केरीको आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

    • hamroserophero hamroserophero
    • २५ भाद्र २०८१ मंगलवार
    गोरखाको धावामा गर्भवती र सुत्केरीको आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

    गोरखा । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ ।

    गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिए ।

    “सुत्केरी भएका तथा गर्भवती भएर १८ महिना पूरा नभएका वडाभित्रका सबैलाई विभिन्न १२ प्रकारका तरकारीका बीउ वितरण गरेका छौँ, हिउँदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले घरमै आफैँले उत्पादन गरेको पोषणयुक्त तरकारी प्रयोग गर्न सकियोस् भनेर पनि बीउ वितरण गरिएको हो”, उनले भने ।

    स्वास्थ्यचौकीले उनीहरूलाई हरियो सागसब्जी पालुङ्गोलगायत अन्य सागको बीउ, मुला, काउली, बन्दा, गाँजर, धनियाँ, डल्ले खुर्सानीलगायत तरकारीका बीउ उपलब्ध गराएको उनले बताए । धावामा ६४ गर्भवती तथा सुत्केरीलाई षोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो । तीमध्ये ११ गर्भवती र ५३ सुत्केरी आमा छन् ।

    “हरियो सागपात र गाँजरले सुत्केरी, शिशु तथा गर्भवतीलाई भिटामिन ‘ए’को कमी हुन दिँदैन, त्यसबाहेक वितरण गरिएका अन्य तरकारीका बीउ पनि उत्तिकै लाभदायक छन्, स्वास्थ्यचौकी प्रमुख लामिछानेले भने, “आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकामार्फत नै कार्यक्रम बनाएर तरकारीको बीउ वितरण गरिएको हो ।”

    विषादी प्रयोग गरिएका तरकारीको खाँदा आमा र शिशु दुवैलाई बढी असर गर्ने भएकाले गाउँमा आफैँले उत्पादन गर्नसके विषादीको जोखिम नहुने उनको भनाइ छ । “हरियो तरकारी सागसब्जी र पहेँला फलफूलका साथै मौसमअनुसारको तरकारी उपभोग गर्दा आमा र बच्चालाई कुपोषण हुनबाट जोगाउन सकिने भएकाले पनि मौसमअनुसारको तरकारीको बीउ वितरण गरिएको उनले बताए ।

    तरकारीको बीउ लगाएको वा नलगाएको स्वास्थ्यचौकीले आवश्यक अनुगमन गर्ने योजना बनाएको उनी बताउँछन् । “वितरण गरिएका तरकारीको राम्रोसँग खेती गरेर उत्पादन गरे कुनै पनि गर्भवती तथा सुत्केरीलाई हिउँदमा तरकारीको अभाव हुँदैन”, उनले भने ।



    hamroserophero hamroserophero    
  • २५ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP