logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • गौरमा १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास चल्यो

    • hamroserophero hamroserophero
    • ८ फाल्गुन २०८२ शुक्रबार
    गौरमा १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास चल्यो

    ८ फागुन-रौतहट, रौतहटको गौर नगरपालिका वडा नम्बर ६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समूदायबीच विवाद हुँदा झडप भएको छ ।
    फागुन ७ गते राति ९ः५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो ।

     

    राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए भने आज बिहान ९ः१५ बजे पुनः सोही विषयलाई लिएर दुवै पक्षका करीब ५०० को सङ्ख्यामा भेला भएका मानिसहरूबीच दोहोरो झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको थियो । भीडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले १२ राउण्ड ब्ल्याङ्क फायर ९हवाई फायर० र ४० सेल अश्रुग्यास प्रहार गरेका छन् । हाल स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ ।

    झडपमा परी थप ६ जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय २७ वर्षीय रामप्रवेश साह, १४ वर्षीय महम्दिन मिया, २० वर्षीय शेख सही आलम मिया, १७ वर्षीय शेख सहिब र ४२ वर्षीय महम्मद खुर्सेद रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    यस्तै, डिउटीमा खटिएका प्रहरी जवान राजेश ठाकुरसहित २ जना सुरक्षाकर्मी समेत घाइते भएका थिए । सामान्य उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन् । घटनालाई साम्य पार्न र विवाद सुल्झाउन आज दिउँसो ३ः०० बजेदेखि जिल्ला प्रशासन कार्यालय गौरमा दुवै पक्षका प्रतिनिधिहरूबीच वार्ता सुरु भएको छ । स्थानीय प्रशासनले संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।



    hamroserophero hamroserophero    
  • ८ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP