२३ चैत- काठमाडौं, पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ ।
सर्वोच्च अदालतले आज रिट खारेज गरेको हो । तर न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामा राख्न अब म्याद थप नगर्न परमादेश पनि जारी गरेको छ ।
ओली र लेखक दुवैको हिजो मात्र तेस्रो पटक ५ दिनका लागि म्याद थप भएको थियो । अब तेस्रो म्यादभित्र अनुसन्धान सकाएर मुद्दा बुझाउनुपर्नेछ ।
‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई… प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
न्यायाधीशद्वयले ३ दिनको सुनुवाइपश्चात भर्खर ४ पेजको आदेश दिएका छन् । आदेशमा सर्वोच्चले जिल्ला अदालतले हिजो तेश्रो पटक थपेको पाँच दिने म्यादभित्रै जो चाहिने बुझेर प्रक्रिया पूरा गर्न र थुनामुक्त गर्नसमेत भनिएको छ । सरकारले अर्को कुनै मुद्दा नथपेमा पर्सिसम्म ओली र लेखकलाई छाड्नैपर्ने आजको परमादेशको निश्कर्ष हो ।
प्रतिक्रिया